राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको जनाएको छ ।
जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘हामीले अहिले परीक्षार्थीको लागि खोपको पहल गरिरहेका छौं । स्वास्थ्य मन्त्रालय सकारात्मक छ । खोपको टुंगो भएपछि परीक्षा तालिका बनाउने तयारीमा लाग्छौं,’ उनले भने ।
मन्त्रालयले आगामी हप्ताभित्र बाँकी आठ लाख एस्ट्राजेनेका खोप आउने जनाएको छ ।
साउन २७ गते सचिवस्तरीय निर्णय गर्दै सरकारले त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिने विद्यार्थीहरूले प्रवेश पत्रको आधारमा खोप लगाउन पाउने निर्णय गरेको छ । तर कक्षा १२ का विद्यार्थीहरूको हकमा भने खोपको व्यवस्था नहुँदा पहिला नै तय भएको परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगीत गरिएको छ ।
साउन ३१ गतेदेखि हुने परीक्षा कोरोना संक्रमणको जोखिम भएको भन्दै सीसीएमसीले परीक्षा स्थगित गर्न अनुरोध गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।