उदयपुरको त्रियुगा नगरपालिका–६ स्थित मोहनपुरको राजदेवी सामुदायिक वनमा मृतावस्थामा फेला परेकी १७ वर्षीया कृशला चौधरीको सामूहिक बलात्कारपछि हत्याको आशङ्का गरिएको छ ।
साउन १३ गतेदेखि बेपत्ता भएकी त्रियुगा–६ जलजले नजिक रातमाटे घर भएकी चौधरीको शव साउन १९ गते भेटिएको थियो ।
शव क्षतविक्षत अवस्थामा भेटिएपछि परिवारले छोरीको हत्या भएको भन्दै अपराधीलाई कडा कारवाहीको माग गरेको छ ।
मृतकका बुवा प्रेम चौधरीले छोरी कृशलाको सामूहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने भन्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।
यस्तै, मृतककी आमा हीरा चौधरीले छोरीलाई विभत्स ढङ्गले हत्या गरिएको भन्दै छिटो दोषी पत्ता लगाई कारवाहीको माग गरिन् । गाउँलेहरू पनि उक्त घटनाबाट त्रसित बनेका छन् । उनीहरूले पनि घटना जघन्य अपराध भएको दाबी गर्दै अनुसन्धान गरी कारवाहीको माग गरेका छन् । स्थानीय सन्तोषकुमार खड्काले घटनाको प्रकृति हेर्दा किशोरीमाथि सामूहिक बलात्कार भइ हत्या भएको हुनसक्ने देखिएको बताए ।
गत साउन १३ गते घरबाट हराएकी किशोरीको शब घर नजिकैको जंगलमा एकहप्तापछि साउन १९ गते फेला परेको थियो । सखुवा रुखको फेदको खाल्डोमा सामान्य रूपले पुरिएको अवस्थामा शव फेला परेको थियो । शवको प्रकृति हेर्दा जङ्गलमा कतै हत्या गरेर त्यहाँ गाडेको आशङ्का गरिएको स्थानीय बताउँछन् ।
देव्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटी, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्राबाट शवको पहिचान भएको थियो । शरीरको दाहिने भागको विभिन्न भाग क्षतविक्षेत भएको, कालो भएर डढेको, यौनाङ्ग क्षतविक्षेत भएको र दाँत झरेको अवस्थामा शव फेला परेको गाउँलेहरूको भनाइ छ ।
शरीर र अनुहारमा एसिड प्रहार भएकोले कालो भएको र अनुहार र यौनाङ्ग क्षतविक्षत हुनेगरी ढुङ्गा वा धारिलो हतियार प्रहार गरी हत्या गरेको आशङ्का गाउँलेहरूको छ । किशोरीको हत्या हुनुमा अन्य कारण नदेखिएको बरु, सामूहिक बलात्कार गरी हत्या भएको हुनसक्ने आशंका गरिएको वडासदस्य कृष्णबहादुर बुढाथोकीले बताउँछन् ।
घाँस, दाउरा सङ्कलन गर्ने क्रममा दुर्गन्ध आएपछि गाउँलेहरूले शव फेला पारी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पहिचान हुन नसकेपछि प्रहरीले शव उदयपुर अस्पतालमा लगेको थियो । अस्पतालबाटै मृतकको बुबाले शब फेला परेको भोलिपल्ट साउन २० गते पहिचान गरेका थिए ।
घटनास्थल मृतकको घरबाट करिब अढाइ किलोमिटर टाढा दक्षिणतर्फको रातमाटे जंगलमा पर्छ । घर र घटनास्थलको बीचमा सगरमाथा राजमार्गको जलजले–लालपत्ता सडकखण्ड पर्दछ । हराएको दिन किशोरी फोनमा कुरा गर्दै जङ्गलतर्फ जाँदै गरेको गाउँलेहरूले देखेका थिए । स्थानीयका अनुसार घटनास्थल र आसपास घना जङ्गल रहेको छ । उक्त जङ्गगलमा रमाइलोको निहुमा दैनिक जसो बाक्लोरुपमा गाँजा, भाङ, जाँडरक्सी, वियर बोकेर जानेहरू, जोडीहरू पनि जाने गरेका छन् ।
शव भेटेलगत्तै अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार ती बालिका झन्डै हप्तादिन अघिदेखि परिवारबाट सम्पर्कबिहीन भएकी थिइन् । यसअघि पनि घरबाट निस्किएर आफन्तकोमा आउजाउ गरिरहने भएकाले परिवारले वास्ता गरेका थिएनन् ।
तर लामो समयसम्म घर नफर्किएपछि खोजतलास सुरु भएको थियो । पछि शव भेटिएपछि अनुसन्धान थालेको प्रहरीले तीन जनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिएसपी गौतमले जानकारी दिए । बालिका स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । पहिले पनि दिदीको घरमा गएर बस्ने गरेकोले अभिभावकहरूले यसपटक एक सातापछि मात्रै बालिकाको खोजी नीति थालेका थिए ।
तीन जना पक्राउ
डिएसपी गौतमका अनुसार अनुसन्धानको क्रममा तीनजनालाई नियन्त्रण लिइ सोधपुछ चलिरहेको छ । घटनाको बारेमा सत्यतथ्य छिटै पत्ता लाग्ने प्रहरीको भनाई छ । कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै जटिल भएका कारण अहिले विभिन्न कोणबाट कडाइका साथ अनुसन्धान सुरु गरिएको उनले बताए ।
अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ । कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ ।
बालिकाले चलाउने गरेको मोबाइल हालसम्म फेला पर्न सकेको छैन । मोबाइल भेटिए कल रेकर्ड आदि माध्यमबाट घटनाबारे चाँडै सत्यता पत्ता लगाउन सजिलो हुने भएकाले अहिले प्रहरी मोबाइलको खोजीमा पनि जुटेको छ । पोष्टमार्टमपछि बालिकाको दाहसंस्कार गरिएको छ ।