नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपालको नयाँ चुच्चे नक्साबारे अभिव्यक्ति दिएका छन्।
यसअघि प्रधानमन्त्री हुँदा ओलीकै पहलमा नेपालले लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेको थियो। आज प्रतिनिधि सभामा सांसदहरुले सरकारसँग चुच्चे नक्साको भूमि कहिले फिर्ता आउँछ भनेर सोधेका थिए।
आफ्नो सम्बोधनमा क्रममा ओलीले सोही मुद्दा उठान गरेर वर्तमान शेर बहादुर देउवाको सरकारले देशको भूमि फिर्ता ल्याउने कुरामा खुट्टा कमाएको आरोप लगाए। उनले आफू पुनः सरकारमा आउने र चुच्चे नक्सामा समावेश भूमि फिर्ता ल्याउने बताए।
उनले प्रधानमन्त्री देउवालाई प्रश्न गर्दै भनेका छन्,‘लिम्पियाधुरा लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर ल्याउँछु भनेर किन भन्न सक्नु भएन?’ ओलीले ती भूभाग नेपालको अभिन्न र पवित्र भूभाग भएको बताउँदै भने,‘तपाइँहरुले त्यो भूभाग फिर्ता लिन सक्नु भएन भने डेढ वर्ष पर्खिनु हामी छौँ।’