प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना तीनवटा प्राथमिकता नै खोप, खोप र खोप भएको बताएका छन् ।
“पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता पनि खोप नै हो,” उनले भने, “विकास पनि महत्वपूर्ण छ तर जीवन झनै महत्वपूर्ण छ ।”
संसदमा विश्वासको मत लिने प्रकियामा उठेका प्रश्नको जवाफ दिने क्रममा देउवाले उक्त कुरा बताएका हुन् ।
विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ । कांग्रेस, माओवादी केन्द्र र जसपा र राष्ट्रिय जनमोर्चाको गरी १४२ मत हुन्छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपाको सिंगो टिमले देउवालाई र जनमोर्चाले देउवालाई विश्वासको मत दिने भएपछि माधव पक्षका १० देखि १५ जना सासंदले नो भोटमा मत हाल्ने भएका छन् भने केही सासंदहरु बानेश्वरस्थित संसद भवनबाट बाहिरिएका छन् ।