१७ वर्षीया युवतीमाथि बलात्कार गरेको अभियोग लागेका सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत सुनसरीले सोमबार यादवउपरको मुद्दामा पूर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
उनका अनुसार जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश सुनाएको हो । वैशाख ८ गते धरानस्थित डुकु होटलमा युवतीलाई बलात्कार गरेको आरोप लागेका अध्यक्ष यादवमाथि आइतबार नै सुनसरी जिल्ला अदालतमा जवरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
इटहरी उपमहानगरपालिका–४ की १७ वर्षीया युवतीसँग राति होटलमा आपत्तिजनक अवस्थामा पक्राउ परेपछि युवतीकी सौतेनी आमाले जागिर लगाइ दिने प्रलोभनमा छोरीमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
अदालतमा यादवको आज बयान लिइएको थियो । त्यसपछि सुरु थुनछेक बहसपश्चात अदालतले पूर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश सुनाएको पोखरेलले बताए ।