विराटनगर, ३ जेठ । १७ वर्षीया युवतीमाथि बलात्कार गरेको अभियोगमा न्यायिक हिरासतमा रहेका सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्र यादवविरुद्ध मुद्दा दर्ता भएको छ ।
वैशाख ८ गते धरानस्थित डुकु होटलमा युवतीलाई बलात्कार गरेको आरोप लागेका अध्यक्ष यादवमाथि सुनसरी जिल्ला अदालतमा जवरजस्ती करणीको मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार नगेन्द्र केसरी पोखरेलले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका–४ की १७ वर्षीया युवतीसँग राति होटलमा आपत्तिजनक अवस्थामा पक्राउ परेपछि युवतीकी सौतेनी आमाले जागिर लगाइ दिने प्रलोभनमा छोरीमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । पीडितकी आमाको जाहेरीपछि इलाका प्रहरी कार्यालय धरानले अध्यक्ष यादवविरुद्ध करणी मुद्दा गरेको थियो । प्रहरीले अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको थियो ।
घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर यादवलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता गरेको हो । समय अभावका कारण करणी मुद्दा दर्ता भएको दिन उनीसँग अदालतले बयान लिन सम्भव नभएका कारण आज बयान लिइने भएको छ ।
बयान सकिएमा आजै पीडित बालिकाका तर्फबाट वादी नेपाल सरकार र प्रतिवादी यादव पक्षका कानुन व्यवसायीले बहस गर्ने स्रेस्तेदार पोखरेलले बताए ।
पीडक छुटाउन पीडित पक्ष नै लाग्यो, आर्थिक चलखेल भएको आशंका
यता, यादवलाई छुटाउन पीडित पक्षनै लागिपरेपछि आर्थिक चलखेलको आशङ्का गरिएको छ । अध्यक्ष यादव न्यायिक हिरासतमा रहेको अवस्थामा जाहेरी दिने पीडितकी आमाले नै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।
यादवलाई छुटाउन पीडित किशोरीकी आमाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन उच्च अदालत विराटनगरले खारेजसमेत गरिदिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले बिहीबार रिटमाथि सुनुवाइपछि रिट खारेज गरिदिएको हो ।
पीडितकी आमाले नै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि घटनामा आर्थिक चलखेल भएको प्रहरीको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पीडक यादवले पैसाको प्रलोाभन दिई पीडितकी आमालाई आरोप फिर्ता लिन बाध्य बनाएको हुनसक्ने आशङ्का गरेको हो ।
प्रहरी स्रोतका अनुसार पीडित किशोरीकी आमा भनिएकी महिला उनकी आफ्नी आमा नभएर सौतेनी आमा हुन् । यसैगरी, अनुसन्धानमा संलग्न प्रहरी, जिल्ला अदालत सुनसरी र जिल्ला सरकारी वकिल कार्यालय सुनसरीलाई विपक्षी बनाई दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा किशोरीको उमेरसमेत १७ वर्षबाट बढाएर १९ वर्ष लेखिएको पाइएको छ । पीडितकी आमाले किटानी जाहेरी दर्ता गर्दा किशोरीको उमेर १७ वर्ष लेखाएकी थिइन् ।
तर रिटमा भने किशोरीलाई बालिग देखाउन उमेर १९ वर्ष लेखाएकी हुन् । पीडित किशोरीले आफूमाथि अध्यक्ष यादवले बलात्कार गरेको बयान दिएकी थिइन् । तर बन्दी प्रत्यक्षीकरण रिटमा भने खाजा खान धरान गएका बेला अध्यक्ष यादवसँग भेट भएको उल्लेख गर्दै निवेदक महिलाले करणी नभएको जिकिर गरेकी छन् ।