प्रदेश– २ मा पछिल्लो समय आत्महत्या गर्नेको दर बढेको तथ्याङ्क छ । प्रहरीका अनुसार पछिल्लो ७ महिनामा ४९२ जनाले आत्महत्या गरेका छन् । यसले औसतमा दैनिक दुई जनाले आत्महत्या गरेको देखाउँछ ।
प्रदेश २ मा सबै भन्दा बढी सिरहा जिल्लाका ८६ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार सप्तरीमा ५९, धनुषामा ८२, महोत्तरीमा ३४, सर्लाहीमा ३१, रौतहटमा ६६, बारामा ६७, पर्सामा ६७ ले आत्महत्या गरेका छन् ।
आत्मबल कमजोर हुनु, दाइजो प्रथा, अचानक कुनै बेइज्जती हुनु, यौन दुर्व्यवहार, चरम गरिबी, पारिवारिक कलह, प्रेममा असफलता, आर्थिक असफलता जस्ता मुख्य कारण भेटिने गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईँले बताए ।
फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिम जसलाई सोसिओलोजीका पिता पनि भनिन्छ । उनका अनुसार आत्महत्याका चार वटा आधार छन्। जसमा आवेगमा आएर गरिने आत्महत्या, डिप्रेसनका कारण गरिने आत्महत्या, देश र जनताका लागि गरिने आत्महत्या, लामो समयसम्म विभिन्न कारणले गरिने आत्महत्या। उनले आत्महत्यालाई सामाजिक परिघटना भनेका छन् । उनले कुनै पनि आत्महत्याका पछाडि सामाजिक कारण रहने कुरा उल्लेख गरेका छन् । दुर्खिमका अनुसार आत्महत्या सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक कारणले हुन्छ ।
सामाजिक परिवेशका कारण पनि आत्महत्या गर्ने गरेका थुप्रै उदाहरण भेटिन्छन्। जस्तै अन्तरजातीय विवाह, रीतिरिवाज, उचनिच तथा दुर्व्यवहार तथा सामाजिक कुरीतिहरूले गर्दा पनि आत्महत्या गर्ने गरेको पाइन्छ। प्रेममा धोका, झुठा आरोप खेप्न नसकी, बेइज्जत भएको सहन नसक्दा र कुनै जघन्य अपराध गरेपश्चात् आत्मग्लानिले पनि आत्महत्याको बाटो रोजेको भेटिन्छ। स्कुल(कलेजमा फेल हुनु, काममा सफलता हात नपर्नु, रोजगारी प्राप्त नहुनु पनि आत्महत्या कारण रहेको पाइन्छ।
डिप्रेसन नै मुख्य कारण– चिकित्सक
डा. दिकनाथ यादवका अनुसार करोना र लकडाउनका कारण उत्पन्न समस्याले मानिसलाई निराश बनाएको छ । जस कारण मानसिक रोगीको सङ्ख्या पनि बढेको छ । मानसिक समस्या भएकाहरूले नै आत्महत्या गर्ने डा. यादवको भनाइ छ ।
विशेष गरेर मनोपरामर्श दिने काम गरे आत्महत्याको उपचार हुन सक्ने डा. यादवको भनाइ छ। ‘मनोपरामर्श सबैभन्दा ठुलो उपचार हो’, उनी भन्छन्, ‘त्यसको लागि परिवार र उसका नजिकका साथीहरूले मात्र थाहा पाउन जरुरी छ।’
यादवका अनुसार आत्महत्या न्यूनीकरणका लागि सबैभन्दा पहिले व्यक्तिले देखाएको अस्वाभाविक व्यवहार वा चिह्नहरूलाई पहिचान गर्न आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण कुरा मनोविमर्शकर्ता र मनोचिकित्सकसँग परामर्श लिने गर्नुपर्छ। औषधि खानुपर्ने भएमा औषधि र मनोविमर्शलाई सँगसँगै अगाडि बढाउन सकिन्छ ।