नेपाल प्रेस युनियनले मङ्गलवार ११ जना सदस्यलाई ६ वर्षको लागि निलम्बन गरेपछि निलम्बनमा परेका माधव दुलालले विज्ञप्ति जारी गरेका छन् ।
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका दुलालले यस अगाडी केटिएम दैनिकसँग गरेको कुराकानीमा आफूलाई उम्मेदवारी फिर्ता लिने चौतर्फी दबाब आएता पनि कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका थिए ।
दुलालले आज एक विज्ञप्ति जारी गर्दै आफूसहित ११ जनामाथि प्रेस युनियनले कारबाही गरेर स्वतन्त्र पत्रकारलाई तर्साउन खोजेको बताएका छन् । “नेपाल पत्रकार महासंघको केन्द्रीय चुनावमा उम्मेदवारी दिएका ११ जनामाथि प्रेस युनियनले कारबाही गरेको भनिएको छ। यो हामीमाथि डन्डा चलाएर देशभरिका स्वतन्त्र पत्रकारलाई तर्साउन खोजिएको प्रपञ्च हो भन्नेमा दुईमत छैन। ” विज्ञप्तिमा भनिएको छ ।
नेपाल प्रेस युनियन लगायत ११ गठबन्धनले पत्रकार महासंघको २६ औँ महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष पदमा कलेन्द्र सेजुवाललाई मैदानमा उतारेका छन् भने निर्मला शर्माको प्यानलबाट कृष्ण गिरी चुनावी मैदानमा छन् ।
यस अगाडी नेपाल प्रेस युनियनमै आबद्ध प्रकाश थापाले कोषाध्यक्षमा उम्मेदवारी दिएता पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
दुलालले आम पत्रकारहरूलाई कुनै डर, त्रास, भयमा नपरी श्रमजीवी पत्रकारलाई न्याय दिन समेत आग्रह गरेका छन् ।
यो समाचार तयार पार्दासम्म दुलालबाहेक कारबाहीमा परेका अन्य १० जना उम्मेदवारहरु यस विषयमा केही बोलेका छैनन् ।
र यो पनि पढ्नुहोस् :
महासंघ चुनावः दलीय उम्मेद्वारसामु किन घुँडा टेके व्यवसायिक भनिएका पत्रकार ?