नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही किन नगर्ने भन्दै प्रतिप्रश्न गरेका छन् ।एमाले महासचिव ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको १४ बुँदे जवाफ दिँदै नेता रावलले अध्यक्ष ओलीलाई उल्टै कारवाही किन नगर्ने भन्दै प्रश्न गरेका हुन् ।
साथै उनले ओलीलाई अनुशासनको कारवाही गरेको होइन भन्दै प्रश्न समेत गरे ।प्रश्नसँगसँगै नेता रावलले अध्यक्ष केपी ओलीमाथि आरोप लगाएका छन् । रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेको उल्लेख गरेका छन् ।आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको अरोप तथ्यहीन भएको बताएका छन्।
“तपाईले बालुवाटारमा गुटको भेला गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को विधानविपरीत अलग केन्द्रीय कमिटी र मातहत कमिटीका साथै जनवर्गीय संगठनहरू बनाउने अवैधानिक काम गर्नुभएपछि तपाईका त्यस्ता पार्टी विरोधी गतिविधिबाट पार्टीको हित सुरक्षा गर्ने नेपाल कम्युनिष्ट पार्टी (ने क पा), स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णय अनुरुप सुदूरपश्चिम प्रदेश कमिटीका सचिव
र कार्यालय सचिवले बैंक खाता संचालनमा आफ्नो हस्ताक्षरको प्रयोग गरी पार्टीको कोष सुरक्षित गरेको कुरालाई मसंग गाँसेर “आर्थिक अनुशासनहीनता र पार्टी सम्पत्तिको हिनामिना गरेको” भन्ने जस्तो झुठो र हास्यास्पद कुरा पत्रमा उल्लेख गर्नलगाएको देख्दा तपाई जनमानसमा भ्रम छर्न कति उद्यत हुनुहुँदोरहेछ भन्ने कुराको पुष्टि हुन्न र ?,” उनले सोधेका छन् ।
“यस्तो निकृष्ट प्रचार गरेर तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफुलाई सहज तुल्याउने अभ्यास गनुभएको मात्र हो किन नभन्ने ?,” उनले भनेका छन् ।
हेर्नुहोस ११ पेजको स्पष्टिकरण पत्र