जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।
सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।
एक २९ वर्षीया महिलाले आफूलाई करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका सिद्धबाबा भनिने गिरीलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
- करणी भएको’ भनिएको मिति – २०७६ साल कार्तिक ४ गते
- गिरीद्वारा महिलाविरुद्ध उजुरी – २०७६ साल कार्तिक १९ गते
- महिलाद्वारा गिरीविरुद्ध उजुरी – २०७६ साल मङ्सिर ८ गते
प्रहरीका अनुसार मङ्सिर ८ गते आफूविरुद्ध उजुरी परेपछि पक्राउपुर्जी जारी भएलगत्तै ४६ वर्षीय गिरी अस्पताल भर्ना भएका थिए।
सो आरोपमा सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि विराटनगर उच्च अदालतमा त्यसविरुद्ध निवेदन परेको थियो । उच्च अदालतले ९ माघमा गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
केही समयअगाडी ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी र पीडित भनिएकी महिलाबिच भएको टेलिफोन वार्ताको अडियो रेकर्ड सार्वजनिक भएको थियो । सार्वजनिक भएको अडियो रेकर्डमा गिरीले पीडित भनिएकी महिलालाई मुद्दा फिर्ता लिन पटक पटक आग्रह गरेका थिए ।
उनै सिद्धबाबाले केही समयअघि पोखरास्थित एक घरभित्र नौ दिनसम्म बिनाअक्सिजन समाधिमा बसेका भन्दै उनको चर्चा व्यापक बनेको थियो ।
चिकित्सकले ३ मिनेटभन्दा बढी अक्सिजनबिना मान्छे बाँच्नु विज्ञानका लागि नै चुनौती भएको बताइरहेका बेला सिद्धबाबाले भने ९ दिन बिनाअक्सिजन समाधिमा बसेको दाबी गरे ।
त्यसपछि त मन्त्री, पूर्वमन्त्री, प्रशासक, नेता, सामाजिक अभियन्ता, विभिन्न पेसाकर्मी, व्यवसायी आदि सबै सिद्धबाबाको पछाडि लागे ।
नौ दिनसम्म बिनाअक्सिजन प्लास्टिकले बेरिएको बन्द बाकसभित्र बसेको व्यक्ति जिउँदै हुनु साँच्चै अनौठो नै थियो । यद्यपि, त्यसको खोज, अनुसन्धानतिर कोही लागेन । सिद्धबाबाले भने वाहवाही पाइरहे, भलै त्यो सत्य होस् वा झुट ।
यसपछि सिद्धबाबाको जयजयकार गर्दै पोखरामा रथारोहण नै गरियो ।
को हुन् सिद्धबाबा ?
सुनसरीको चतारामा बस्दै आएका कृष्णदास महाराज अथवा सिद्धबाबा सोलुखुम्बु जुबुका कृष्णबहादुर गिरी हुन् । उनी दोहोरो नागरिकता र जडीबुटीको अवैध कारोबारमा संलग्न रहेको आरोप खेपिरहेका छन् । चतारामा ‘कृष्णदास महाराज’ भनेर चिनिने उनी पोखरा पुगेर अचानक ‘सिद्धबाबा’ कहलिए ।
गिरीले दोहोरो नागरिकता लिएर अ-वैध काम गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उ-जुरी नै परेको थियो । कृष्णदास भनिने कृष्णबहादुर गिरीले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरक–फरक लेखाएर सोलुखुम्बु र सुनसरीबाट दुईवटा नागरिकता लिएर कारोबार गर्ने गरेको आरोप लागेको थियो ।
यसलाई प्रभावित पार्न उनले बिना अक्सिजनको समाधिलगायतका अनेक तिकडम गरेको आलोचकहरूले बताएका थिए ।