काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ ।
महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरे ।
महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन गरिनेछ ।
चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संकलनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
सरकारले घोषणा गरेअनुसार लक्षीत समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे ।
कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहेपनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए ।
उनले स्थानीय स्तरबाट नै कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए ।