प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले बताइन् । गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवका अनुसार अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको छ ।
प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ ।
सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले रु ३७ हजार तिरेर रु ३ लाखको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् ।
शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर रु एक लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो । अब अर्को बैंकसँग छोरी शिक्षा बीमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम शुरु हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।