सोमबार दिउँसो परेको अविरल वर्षाका कारण काभ्रेको मुख्य व्यापारिक केन्द्र बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।
सोमबार दिउँसो साढे १ बजेदेखि परेको अविरल वर्षापछि पुण्यमाता खोलामा आएको बाढीका कारण अरनिको लोकमार्गको बनेपा–साँगा सडकखण्ड अन्तरगत पुलबजार डुबानमा परेको हो । बाढीका कारण अरनिको लोकमार्गमा गुड्ने सयौँ सवारी साधन सडकमा नै रोकिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दिउँसो साढे तीन बजेपछि आएको बाढीका कारण सवारी साधनहरु सडकमा नै रोकिएको जनाएको छ ।
बाढीका कारण धुलिखेलतर्फ जाने सडकमा बनेपाको चारदोबाटो र काठमाडौँतर्फ जाने जनागालसम्म सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । बाढीका कारण दोहोरो गाडी सञ्चालन नहुने भएकाले पालैपाले सवारी पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।