नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधी गरेको अस्थाइ प्रमाणपत्र लिएका छन् ।
आज सामाजिक सञ्जाल ट्विटर मार्फत एक तस्विर सार्वजनिक गर्दै राववले अस्थायी प्रमाणपत्र लिएको जानकारी दिएका हुन् ।
रावलले लेखेका छन् “आज त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा डीन प्रा.डा.कुशुम शाक्यबाट विद्यावारिधिको अस्थायी प्रमाणपत्र प्राप्त भयो ।”
पूर्व उप-प्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका नेता रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधी गरेका हुन्।
अन्तर्राष्ट्रिय कानुनका ज्ञातासमेत रहेका नेता रावल पछिल्लो समय अमेरिकी परियोजना एमसिसीको विपक्षमा उभिएपछि चर्चामा आएका छन्। रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. मीना वैद्य रहेकी थिइन्।
ट्विटरमा मिश्रित टीका टिप्पणी
रावलले ट्विटरमा फोटो सार्वजनिक गरेपछि उनलाई मिश्रित प्रतिक्रिया आइरहेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राप्रपका नेता कमल थापा, पत्रकार गजेन्द्र बुढाथोकी लगायतले विद्यावारिधि गरेकोमा बधाई दिएका छन् भने केहीले त्यो कागजको टुक्राको के काम भन्दै प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता टेकेन्द्र कुँवर लेख्छन् “त्यो खोस्टो कुनै व्यवहारीक काम लाग्छ कि खाली नामका अगाडि वा पछाडी डा. वा पिएचडी लेख्न मात्रै हो म जस्ता लाखौ सुदुरपश्चिम र अछामका युवाहरू त्रिभुवन विश्वविद्यालयको को डिग्री लिएर बिदेशमा भाडा माझीरहेका छन् । कुनै काम लागेका छैनन ती खोस्टा त्यस्को बारेमा नि सोच्ने कि ? हुन त तम्रा छोराले गर्नु पर्या छैन ।”