कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुङ्गे पुलमुनि एक पुरुषको शव फेला परेको छ ।
कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनि एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
अन्दाजी ४०–५० वर्ष उमेरका उक्त पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले बताए ।
घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी महाशाखाको टोलीले समेत घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ ।
हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने भन्दै प्रहरीले पहिचानका लागि सामाजिक सञ्जालमार्फत शवको फोटो सार्वजनिक गरेको छ । शव पोष्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।