नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न प्रस्थान गरेका छन् । कोरियन एयरको चार्टड उडानमार्फत उनी सीपीएल खेल्न आज प्रस्थान गरेका हुन् ।
स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उनी पीपीई लगाएर विमानस्थल पुगेका थिए । उनी आज काठमाडौंबाट प्रस्थान गरे पनि ट्रिनिडाड एन्ड टोबेगो हुँदै सन्दीप अगष्ट एक तारिखमा वेष्ट इन्डिज पुग्ने बताइएको छ । खेलअघि सबै खेलाडी अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ ।
सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्। सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।
सिपिएलमा कुल ३३ खेल हुने छन्। करोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्। सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।
उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटककाे सिपिएल सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले। साे छ खेलमा उनले आठ विकेट लिएका थिए।
सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए। यस वर्षको सिपिएलका लागि सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ।