संसदमा हिन्दी भाषामा बोलेको भनेर पछिल्लो समय निकै विवादित बनेकी सांसद सरीता गिरीको सांसद पद खारेज भएको छ ।
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट बर्खास्त गरेसँगै उनको संसद पद खारेज भएको हो ।
पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको हो । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद थिइन् ।
पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि संविधानको धारा ८९ को (ङ) अनुसार उनको पद खारेज भएको हो ।
नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन उनले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो ।
प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिइनन् ।त्यसपछि पार्टीले उनलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाएकी थिइन् तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीका लागि सिफारिश गरेको थियो ।
निष्काशन गर्ने पार्टीको निर्णय विरुद्ध उनले कानुनी उपचार खोज्न भने पाउनेछिन् । यसरी उनले कानुनी उपचार खोज्दा दलले उनलाई गरेको कारवाही उचित नदेखिएमा भने उनलाई निष्काशन गर्ने पार्टीको निर्णय बदर हुनेछ र उनको सांसद पद कायमै रहनेछ । दलको कारवाही गर्ने निर्णय उचित देखिएमा भने उनको पद जान सक्छ ।
भारतमा जन्मिएकी सांसद सरिता गिरी नेपाली युवासँग विवाह गरेपछि अंगिकृत नागरिकता पाएकी हुन् । उनको बारेमा थप जानकारी लिन तलको भिडियो हेर्नुहोस् ।