पार्टीको निर्देशन र ह्विप नमानी संविधान संसोधन विरुद्द उभिएको भन्दै संसदबाट हटाइने भएको छ।
समाजवादी पार्टीबाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद गिरीलाई देश र संविधानको विपक्षमा उभिए पछि पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने पार्टीका एक नेताले बताए।
गिरीले नेपालको नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी थिइन। पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरे पछि फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,’ तर उनी विपक्षीमा उभिएकी थिइन। पार्टीले तत्काल बैठक बसेर निर्णय गर्ने तयारी समेत शुरु गरेको स्रोतको भनाई छ।
पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।
निशान छापको लागि संविधान संशोधन गर्ने दिन आफुलाई बोल्नको लागि समय नदिएको भन्दै प्रतिनिधि सभा बहिष्कार गरेर बाहिरिएपछि गिरीले सञ्चारमाध्यममा दिएको अभिव्यक्ति तलको भिडियोमा
संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।
समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।
कत्तिको सजिलो छ गिरीलाई सांसद पदबाटै हटाउन ?
प्रतिनिधि सभाको सदस्य पदमा नरहने वा पद रिक्त हुने बारे संविधानमा व्यवस्था गरिएको छ । संविधानको धारा ८७ र ८९ मा यससम्बन्धी व्यवस्था गरिएको छ । धारा ८७ मा प्रतिनिधि सभा सदस्यको योग्यता र धारा ८९ मा पद रिक्त हुने सम्बन्धी व्यवस्था छ ।
धारा ८७ मा लेखिएको छ –
८७. सदस्यका लागि योग्यताः
(१) देहायको योग्यता भएको व्यक्ति संघीय संसदको सदस्य हुन योग्य हुनेछः–
(क) नेपालको नागरिक,
(ख) प्रतिनिधि सभाका लागि पच्चीस वर्ष र राष्ट्रिय सभाका लागि पैंतीस वर्ष उमेर पूरा भएको,
(ग) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
(घ) कुनै संघीय कानूनले अयोग्य नभएको, र
(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।
(२) कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन ।
(३) निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम संघीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा संघीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।
र यो पनि पढ्नुहोस् :
धोती र टोपीबीच खोजिने राष्ट्रियताको करिब अन्त्य हुँदा उदाएकी सरिता गिरी को हुन् ?
यस्तै धारा ८९ मा लेखिएको छ –
८९. स्थानको रिक्तताः देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछः–
(क) निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
(ग) प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
(घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
(ङ) जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
(च) निजको मृत्यु भएमा ।
को हुन् सरिता गिरी हेर्नुहोस भिडियोमा
माथि समाचारमा भनिए जस्तै पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको खण्डमा संविधानको धारा ८९ को (ङ) अनुसार उनको पद खारेज हुनेछ ।
तर, उनलाई निष्काशन गर्ने पार्टीको निर्णय विरुद्ध उनले कानुनी उपचार खोज्न भने पाउनेछिन् । यसरी उनले कानुनी उपचार खोज्दा दलले उनलाई गरेको कारवाही उचित नदेखिएमा भने उनलाई निष्काशन गर्ने पार्टीको निर्णय बदर हुनेछ र उनको सांसद पद कायमै रहनेछ । दलको कारवाही गर्ने निर्णय उचित देखिएमा भने उनको पद जान सक्छ ।
पार्टीले निष्काशन गरेकै अवस्थामा पनि सांसद गिरीले सांसद पद कायमै राख्न सक्ने अर्को विकल्प पनि छ । यसका लागि उनले आफू अहिले जुन पार्टीको तर्फबाट सांसद छिन् त्यो पार्टी विभाजन गर्नुपर्ने हुन्छ । उनले पार्टी विभाजन गर्दा राजनैतिक दलसम्बन्धी कानुन अनुसारका सांसद र केन्द्रीय सदस्य भने आफ्नो पक्षमा लिन सक्नुपर्छ । यदि उनले आवश्यक सांसद र केन्द्रीय सदस्य साथमा लिएर पार्टी विभाजन गर्न सकिन् भने उनी नयाँ पार्टीको तर्फबाट सांसद रहनेछिन् । यसरी पार्टी विभाजन गर्नको लागि उनको साथमा पार्टीका ४०–४० प्रतिशत सांसद र केन्द्रीय सदस्य हुनुपर्छ ।