
भारत जान लागेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई प्रहरीले फर्काइदिएको छ।
सिरहाको ठाडी नाकाबाट मंगलबार भारततर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदी बताए।
‘उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर राेकेका हौं’, एसपी चतुर्वेदीले भने, ‘उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ।’
उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् ।
संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।
भारत माइती भएकी गिरीले नेपालले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको र सो क्षेत्र नेपालको नभएको बताउँदै आएकी थिइन्।