
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।
समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो ।
आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।
आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् । यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा १-१ जना कोरोना सङ्क्रमित छन् ।
भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ ।
सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ ।
खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो ।
लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हुँदै आएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ ।