प्रदेश २ की एक सांसदले स्वकीय सचिव समेत रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई लेखेको एक निवेदन सार्वजनिक भएको छ ।
सार्वजनिक भएको उक्त निवेदनमा यातायात कार्यालय लहान, सिरहाका कार्यालय प्रमुखलाई सम्बोधन गर्दै प्रदेश २ को प्रदेश सभा सदस्य प्रमिला कुमारी यादवका स्वकीय सचिव अशोक कुमार यादवले चढ्ने मोटरसाइकल स३प ८८४२ को को एक वर्षको कर मिनाहा गरिदिन अनुरोध गरिएको छ ।
स्वकीय सचिव अशोक यादव उनका श्रीमान् हुन् । प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् ।
अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाको आफ्नै लेटरप्याडमा लेखिउको निवेदन सार्वजनिक भएतापनि आफूले पत्र नलेखेको उनले दावी गरेकी छिन् ।
उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए । तर, कार्यालयले कर छुट गर्न नमिल्ने प्रतिक्रिया दिएको छ ।कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने बताए ।
‘कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्छ,’ भट्टराईले भने, ‘मैले पनि उहाँलाई यो कुरा भनेर पठाएँ ।’ कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले बताए ।
उनले भनिन्, ‘३/४ हजार रूपैयाँका लागि यस्तो घटिया काम किन गर्छु ? मेरो श्रीमान्ले आफैं करवापतको रकम तिर्नुभएको छ ।’‘१५ दिन अगाडी श्रीमान् मोटरसाइकलको कर र इन्स्योरेन्स गराउन लहान यातायात कार्यालय पुग्नुभएको थियो,’ उनले भनिन्, ‘त्यो दिन इन्स्योरेन्स गराउनुभयो । कर पनि तिरिसक्नुभएको छ ।’