मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृतावस्थामा फेला परेकी हुन् ।
शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले जानकारी दिए । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि वडाध्यक्ष न्यौपाने प्रहरीलाई लिएर घटनास्थल पुगेका थिए ।
‘भित्रबाट चुकुल लगाएको अवस्था थियो,’ उनले केटिएम दैनिकसँग भने, ‘मेरो रोहबरमा प्रहरीले ढोका फुटाएर भित्र पस्दा शव भेटिएको हो ।’ उनका अनुसार रोजिनाको अनुहारमा निल डाम छ ।
आइतबार नै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए । उनका अनुसार आज शवको पोस्टमार्टम हुनेछ । रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने उनले बताए ।
‘हामीले माइती पक्षलाई ल्याएर मुचुल्का उठाइ पोस्टमार्टमका लागि घोपा पठाएका थियौँ’, उनले भने, ‘रिपोर्ट आएपछि थप विवरण खुल्ने छ ।’ शवको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने उनले जानकारी दिए ।
कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
यता, माइतीपक्षले भने रोजिनाको आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । अनुहारमा निलडाम प्रष्ट देखिएको र शरीरमा पनि डाम देखिएकाले आत्महत्या नभइ हत्या हुनसक्ने माइतीपक्षको आशङ्का छ । प्रहरीले भने झुण्डिएका कारण रगत सोहोरिएर निलडाम हुनसक्ने जनाएको छ ।
नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीको कुटपिटको कारण निधन भएको बताएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले फेसबुकमा राखेको उक्त सामाग्री २१७ पटक शेयर भैसकेको छ ।
मनिसा छेत्रीले फेसबुकबाट उक्त पोस्ट प्राइभेट गरेको हुनाले त्यस्को स्क्रिनसर्ट यहाँ राखिएको छ ।
रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनले घरायसी झगडा नभएको कुरा छिमेकीबाट पनि नुसनेको बताए ।
र यो पनि :
रोजिना गिरी मृत्यु प्रकरण : घर बेचेको पैसामा किचलो हुँदा हत्या भएको आशङ्का
पतिले आत्महत्या नगर भन्दाभन्दै पत्नीको मृत्यु, विवाह गरेको एक वर्षमै बिछोड !