मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा आफ्नै घरको कोठाभित्र मृतावस्थामा फेला परेकी २४ वर्षीया रोजिना गिरीको माइतीपक्षले किटानी जाहेरी दिने तयारी गरेका छन् ।
रोजिना आइतबार (हिजो) बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा मृतावस्थामा फेला परेकी थिइन् ।
सुन्दरहरैँचा– ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको थियो । मृतक रोजिनाको अनुहारमा निल डाम छ भने शरीरमा पनि चोट देखिएको बताइएको छ ।
आइतबार नै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए । उनका अनुसार आज शवको पोस्टमार्टम हुनेछ । रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने उनले बताए ।
शवको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने उनले जानकारी दिए । कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको उनको भनाइ छ । शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले भने झुण्डिएका कारण रगत सोहोरिएर निलडाम हुनसक्ने जनाएको छ ।
यता, माइतीपक्षले भने रोजिनाको आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । अनुहारमा निलडाम प्रष्ट देखिएको र शरीरमा पनि डाम देखिएकाले आत्महत्या नभइ हत्या हुनसक्ने माइतीपक्षको आशङ्का छ । हालैमात्र घर बेचेको र सो पैसामा किचलो हुँदा उनको हत्या भएको माइती पक्षको दाबी छ ।
मृतकको शव ओछ्यानमा घोप्टो परेको अवस्थामा फेला परेको र शरीरमा पनि निलडाम देखिएको हजुरबुवा यामकुमार गिरीले बताए । माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् ।
रोजिनाको एक वर्षअगाडि मात्र विनोद काफ्लेसँग विवाह भएको थियो । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा छन् । उनी आजै स्वदेश फर्किँदै गरेको वडाध्यक्ष न्यौपानेले जनाए । उनले घरायसी झगडा भएको कुरा छिमेकीबाट पनि सुनेको बताए ।
र यो पनि :
मोरङमा कोठाभित्र मृतावस्थामा भेटिइन् रोजिना, हत्या गरेको हुनसक्ने आशङ्का
पतिले आत्महत्या नगर भन्दाभन्दै पत्नीको मृत्यु, विवाह गरेको एक वर्षमै बिछोड !