मङ्गलबारमात्र स्पेनिस क्लब छोडेर प्रिमिय लिग क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका फ्रान्सेली डिफेन्डर राफेल भराने महँगो खेलाडी बनेका छन् । रियल मड्रिडले उनलाई चौथो महँगो खेलाडीका रूपमा इङ्ग्ल्यान्ड पठाएको हो ।
भरान ५० मिलियन युरोमा युनाइटेडमा अनुबन्ध भएका हुन् । कोरोना महामारीका कारण क्लबको आर्थिक अवस्थामा प्रभाव परेपनि युनाइटेडले उनका लागि महँगो रकम खर्चिएको छ । एक दशक लामो यात्रा टुङ्ग्याउँदै इङ्ग्रल्यान्ड गएका भरानेले युनाइटेडसँग सन् २०२६ सम्मको सम्झौता गरेका छन् ।
रियलबाट महँगो रकममा बिक्री हुने खेलाडी को–को ?
रियल मड्रिडको इतिहासमा सर्वाधिक महँगोमा बिक्री हुने खेलाडी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो हुन् । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो सन् २०१८ मा एक सय पाँच मिलियन युरोमा इटालियन क्लब युभेन्टसमा आवद्ध भएका थिए ।
सन् २००९ मा युनाइटेडबाट रियलमा आवद्ध भएका उनले स्पेनमा नौ वर्ष बिताएका थिए । जसक्रममा उनले चार सय ३८ खेल खेल्दा चार सय ५० गोल गरेका थिए । निखारिएको प्रदर्शनबाट सबैलाई प्रभावित तुल्याएका उनलाई ३३ वर्षको उमेरमा पनि युभेन्टसले महँगो रकम खर्चिएको थियो ।
त्यसपछि दोस्रोमा आउँछन्, अल्भारो मोरटा । मोरटा सन् २०१७ मा रियलबाट ८० मिलियन युरोमा इङ्ग्लिस क्लब चेल्सी गएका थिए । रियलबाट बेचिने तेस्रो महँगो खेलाडी भने एन्जल डी मारिया हुन् । उनी सन् २०१४ मा ७५ मिलियन युरोमा युनाइटेडमा आवद्ध भएका थिए । त्यसपछि आउँछन् भरान ।