अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन्।
‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्,’ उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।
यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।
विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना तीन खेल खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउदा अस्ट्रेलिया र जोर्डनसँग पराजय भोगेको थियो। त्यसअघि उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
प्रशिक्षकको राजीनामाको विषयलाई लिएर एन्फा बैठकमा बसेकाे एन्फाका प्रवक्ता किरण राईले केटिएम दैनिकलाई जानकारी दिएका छन् ।