नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएका छन् ।
प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि दुईजनालाई सरकारमा पठाउने निर्णय गरेका हुन् ।
शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । तर मन्त्रीका लागि शर्मा र भुसालको नाम दिँदा आफूहरूसँग कुरा परामर्श नभएको माओवादी केन्द्रका नेताहरूको गुनासो छ । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले नेपाली काँग्रेसबाट पौडेल समूहसमेत पर्ने गरी २ जना, माओवादी केन्द्रबाट २ जना, जसपा र जनमोर्चाबाट १/१ जना मन्त्रीको नाम टुङ्गो लगाउन भनेका थिए ।
सुरुमा सानो मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । जसपाबाट यसअगाडि उपेन्द्र यादव मन्त्री बन्ने चर्चा भएतापनि जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।