
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आईतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेअनुसार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेको अधिकारीले जनाए ।
बजेट निर्माणका क्रममा करका दर हेरफेरको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए ।
तर, संसदीय छानबिन समितिले शर्मालाई आफनो सीमा भित्रको अध्ययनबाट उनलाई दोषी भन्न नसकिने प्रतिवेदन दिएको थियो । समितिमा रहेका एमालेका चार सदस्यहरुले भने प्रतिवेदनमा फरक मत राखेका थिए ।
पदभार ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् । उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए ।
बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, संसदीय समितिले १७ दिन लगाएर छानविन गर्दा निर्दोष भएको निष्कर्ष निकालेपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
राजिनामा दिएको २५ दिनपछि उनी पुनः अर्थमन्त्रालय सम्हाल्न पुगेका छन् ।