घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।
निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो ।
खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए ।
इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।
पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो तीन पेनाल्टी लगातार मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधी उचालेको हो । सन् १९६८ मा आफ्नो पहिलो उपाधी जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधी जितेको हो ।
घरेलु मैदानमा घरेलु समर्थकमाझ इङ्ल्याण्ड पराजित हुँदा उपाधी होम नभई रोम गएको छ । युरोकप फाइनलको इतिहासमा पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो भएको यो दोस्रो खेल हो । यसअघि १९७६ को युरोकप फाइनलमा पेनाल्टीमार्फत चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको थियो ।
यसैबीच पोर्चुगलका स्टाइकर क्रिष्टियानो रोनाल्डोले २०२० युरोकपको गोल्डेनबुटको उपाधी जितेका छन् । उनले खेल अवधिभर व्यक्तिगत पाँच गोल गरेवापत यो उपाधी जितेका हुन् । त्यस्तै इटालीका गोलरक्षक जियान लुइजी डोनारूम्मा युरोकप २०२० का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।