काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ। बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड – १९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो।
बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ।
महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने, करदाताहरू तथा सार्वजनिक नीजि साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।
कोभिड – १९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि उनले बताए।
महानगरपालिकाले विद्युतिय सवारी करमा शतप्रतिशत छुट, महानगरबासीलाई नागरिक स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक नमुना विद्यालय कार्यक्रम, सम्पदा संरक्षणमा प्राथमिकता, नाकामा भेइकल क्लीनिङ सेन्टर स्थापना लगायतका कार्यक्रमहरु पनि ल्याएको छ।