नेपालमा बालबालिकाको बाल बचाउ र बाच्न पाउने अधिकारको संरक्षण र सुनिश्चिततागर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलहरूलाई एकीकृत र समन्वय गर्ने, मातृ तथा नवजात शिशु, बाल स्वास्थ्य, खोप, महामारी रोगहरूबाट बचाउने कार्यका लागि स्वास्थ्य नीति तथा संरचनाहरूको सबलीकरणमा सहयोग पुर्याउन सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा, सङ्क्रामक रोगहरूबाट बचाउ तथा निर्मलीकरण, पोषण लगायतका सवालमा समन्वय, सहकार्य, नीतिगत पैरवी, वकालत गर्दै आइरहेको बाल बचाउका लागि राष्ट्रिय पहल (निक्स) ले सङ्घदेखि स्थानीय सरकार र सरोकारवाला समेतलाई ध्यानाकर्षण गराएको हो ।
हालै सङ्घीय सरकारले लिएको नीति तथा कार्यक्रम र बजेट वक्तव्य मार्फत बालबालिकाको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र पहुँच वृद्धिका लागि कोभिड संशोधनका लागि निःशुल्क स्वास्थ्य तथा मनोविर्मश घुम्ती सेवा, सबै अस्पतालहरूमा कोभिड सङ्क्रमित बालबालिकाका लागि २० प्रतिशत बेडहरू व्यवस्था गर्ने, १३ प्रकारका निःशुल्क खोप उपलब्धता, कान्ति बाल अस्पतालमा पूर्वाधार सहितको आइसियु बेडहरूको व्यवस्थापन लगायत १२ प्रकारका गुणस्तरीय बाल स्वास्थ्य सेवाका लागि गरेको व्यवस्थाको स्वागत गर्दै ‘निक्स’ सञ्जालका राष्ट्रिय संयोजक कृष्णचन्द्र आचार्यले सबै बाल अधिकारहरूसँग सम्बन्धित सङ्घ संस्थाको तर्फबाट हस्ताक्षर गर्दै, कोभिड विरुद्धको खोपको लागि आवश्यक अध्ययन, अनुसन्धान गरी बालबालिकाको उपचार र कोभिड विरुद्धको खोपलाई प्राथमिकता दिन, २० प्रतिशत बालबालिकाहरूका लागि व्यवस्था गरिएका बेडहरूको कार्यान्वयन अवस्थाको अनुगमन गरी सबै बेडहरू बालमैत्री बनाउन, बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकारको लागि आमाको समेत कोभिड सुरक्षामा ध्यान दिन, महामारीका समयमा समेत सरकारले ग्यारेन्टी गरेका १३ प्रकारका खोपहरूको बालबालिकाको पहुँच, बालमैत्री र सुरक्षित खोप केन्द्रको ग्यारेन्टी गर्न विशेष अनुगमन र कार्यान्वयन गर्न गराउन, कोभिड सङ्क्रमित बालबालिकाको लागि विशेषज्ञ डाक्टरको सेवा र मनोपरामर्शकर्ताको व्यवस्था गर्न सबै तहका सरकारको ध्यानाकर्षण गर्दै अपिल जारी गरिएको छ ।
सबै तहका सरकारहरूले बाल बालिकाहरूको स्वास्थ्यमा विशेष प्रकारको योजना सहितका कार्यक्रमहरू ल्याउन पनि सञ्जालले अपिल मार्फत ध्यानाकर्षण गराएको छ ।