आयोजक राष्ट्र ब्राजिलले दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा शानदार सुरुवात गरेको छ । साविक विजेतासमेत रहेको ब्राजिलले आइतबार राति भएको उद्घाटन खेलमा भेनेज्वलालाई हराउँदै कोपा अमेरिकामा शानदार सुरुवात गरेको हो ।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिलले भेनेज्वेलाविरुद्ध ३–० गोलअन्तरको जित निकाल्दा मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक–एक गोल गरे ।
खेलको २३औँ मिनेटमा मार्कुइन्होसले गोल गर्दै घरेलु टिमलाई सुवाती अग्रता दिलाएका थिए । खेलको २६औँ मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहँदा गोलले मान्यता पाएन ।
६४औँ मिनेटमा ब्राजिलले पेनाल्टीको मौका पाएको थियो, जसमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।
यस गोलसँगै नेयमारले राष्ट्रिय टोलीका लागि ६७ गोल गरेका छन् । अब उनी राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमानभन्दा १० गोलले मात्र पछि छन् ।
८९औँ मिनेटमा बर्बोसाले गोल गर्दै ब्राजिललाई ३–० गोलको जित दिलाए । बर्बोसाले नेयमारको पासमा गोल गरेका थिए ।
यस जितसँगै समूह ‘बी’मा रहेको उसले तीन अङ्क जोडेको छ । ब्राजिल उक्त समूहको शीर्ष स्थानमा रहेको छ । भेनेज्वलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । भेनेजुएला समूहको पुछारमा रहेको छ ।