सन् २०२२ मा हुने फिफा विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले छैटौँ हार ब्यहोरेको छ । शुक्रबार नेपालले बलियो टिम अस्ट्रेलियासँग ३–० गोलको हार ब्यहोरेको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा अस्ट्रेलियालाई जिताउन माथ्यु लेकी, फरान करासिस र मार्टिन बोइलेले एक–एक गोल गरे ।
खेलको छैटौँ मिनेटमा लेकीले हेडरमार्फत गोल गर्दै अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा करासिसले लिकेको असिस्टमा गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाए ।
४५औँ मिनेटमा नेपालका डिफेन्डर रोहित चन्दले रातो कार्ड पाएपछि नेपाली टिम दस खेलाडीमा सीमित हुन पुगेको थियो । अस्ट्रेलियाका मार्टिन बोयलेलाई फउल गरेपछि रोहितले रातो कार्ड पाएका हुन् ।
खेलको ५७औँ मिनेटमा बोइलेले गोल गरेपछि अस्ट्रेलियाले नेपालमाथि सहज जित निकालेको हो ।
यस जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ । अस्ट्रेलिया अपराजित रहँदै ७ खेलमा २१ अङ्क बटुल्न सफल भएको छ ।
नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्लेअफको पर्खाइमा हुनेछ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । चाैथाे स्थानको नेपालले ८ खेलमा ६ अङ्क जाेडेको छ ।
यता, यस खेलसँगै कप्तान किरण चेम्जोङले नेपालको प्रतिनिधित्व गरी आफ्नो ७२औँ अन्तर्राष्ट्रिय खेलमा सहभागी भए । उनले अस्ट्रेलियाविरुद्ध राम्रो प्रदर्शन गरे । उनले अस्ट्रेलियाको आधा दर्जनभन्दा बढी गोलको प्रयासलाई विफल पारे ।