युरोपियन फुटबल महासङ्घ (युइएफए) को आयोजनामा हुन लागेको युरो कप २०२० फुटबल प्रतियोगिता आजबाट सुरू हुँदै छ । १६औँ संस्करणको महादेशीय फुटबल प्रतियोगिता आजबाट सुरू हुन लागेको हो ।
उद्घाटन खेलमा समूह ‘ए’का इटाली र टर्कीले प्रतिस्पर्धा गर्दैछन् । यो खेल इटालीको रोममा नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा आयोजना हुँदै छ ।
सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारिएको हो । युरो कप लन्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने छ ।
सन् १९६० मा फ्रान्सको आयोजनामा भएको पहिलो संस्करणको युरो कपमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो । पोर्चुगल युरो कपको साविक विजेता हो । सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो ।
युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदै छ । युरोपियन राष्ट्रले खेल्ने युरो कपमा हालसम्म १५ औँ संस्करण पूरा भइसकेको छ । यस पटकको युरो कपमा केही नियम परिवर्तन गरिएको छ ।
एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ । नियमित समयमा तीन पटकमात्र खेलाडी परिवर्तन गर्न पाइनेछ । अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ ।
युरो कपमा लागि एक टिममा २६ खेलाडी राख्न पाइने नयाँ नियम बनाइएको छ । यसअघि एक टिमले २३ खेलाडी मात्र राख्न पाउथे ।
यस्तो छ ६ समूह
समूह ए – टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी – डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी – इङ्ग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई – स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ – हङ्गेरी, पोर्चुगल, फ्रान्स, जर्मनी