प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी नहुने भएको छ । बुधवार अबेर साँझसम्म मुख्यमन्त्री लालबाबु राउतसहित जसपा उपेन्द्र यादव समूहका वार्ता समितिसँग माओवादी केन्द्रको मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि वार्ता असफल भएको थियो ।
माओवादी केन्द्रको तर्फबाट वार्ता समिति सदस्य एवं प्रदेश सभा सदस्य जगत यादवले दुई वटा मन्त्रालय दिने आश्वासन पाए पनि अन्तिममा एउटा मात्रै दिन खोजेपछि सरकारमा नगएको बताए ।
‘हामीले दुई वटा मन्त्रालय मागेका थियौँ, आश्वासन पनि मुख्यमन्त्री राउतले दिँदै आएका थिए’, उनले केटिएम दैनिक भने, ‘तर आज एउटा मात्रै दिने । त्यो पनि कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय दिने भनेपछि हामी सरकारमा नजाने निर्णय गरेर बाहिरिएका छौँ ।’
यसअघि जसपाले आफूहरूलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको उनले बताए । तर एकाएक हाल आएर एक मन्त्रालय मात्रै दिने भनेर आफूहरूलाई अपमानजनक व्यवहार भएको पनि उनको भनाइ छ ।