प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने बताएकी छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताइन् ।
विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरी प्रदेशवासीबाट सहयोग संकलन गरी उपचार कोष निर्माणको अवधारणा अघि सारिएको उनले बताइन् । अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताइन् ।
‘सम्पन्न व्यक्तिहरू हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन् । तर गरिब जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनेर यो अवधारणा ल्याइएको हो,’ उनले भनिन् ।
सहयोग गर्न सक्नेहरूले आफ्नो योगदान सजिलै हेर्न सकिने गरिको सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईले बताइन् । उनले उपचार कोषमा गरिएको सहयोग पारदर्शीढङ्गले राख्ने समेत बताइन् ।
सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्नेगरी प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिइन् । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनले महिला, बालबालिका, जेष्ठ नागरिकसम्बन्धीको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । उनले सामाजिक विकास परिषद् गठनमा जोड दिए ।
कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझावसँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन् । सामाजिक क्षेत्रले उठाएका सवालहरूलाई सरकारले दीगोपना दिनुपर्नेमा उनले जोड दिइन् ।