नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको पहिलो हाफमा काठमाडौं रेजर्सले २ गोलको अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मेसौके ओलुमोउको दुई गोल मद्दतमा काठमाडौंले पहिलो हाफमा ललितपुरविरुद्ध २–० को अग्रता लिएको हो ।
१४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाएका हुन् । २२औं मिनेटमा मेसौके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए ।
आजको खेलको विजेताले धनगढीसँगको उपाधि भिडन्त पक्का गर्नेछ ।
यसअघि पहिलो क्वालिफायरमा धनगढीसँग २- १ ले पराजित काठमाडौं ललितपुरमाथि जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ । यता इलिमिनेटरमा बुटवललाई पन्छाएको ललितपुर पनि फाइनल प्रवेशको दाउमा छ ।
हिजो बुधबार भएको इलिमिनेटरमा बुटवल लुम्बिनीलाई पराजित गरेको ललितपुर आज काठमाडौंविरुद्ध उत्रेको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
केही तस्विरहरु