पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तयारी पूरा भएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै भोलिबाट काठमाडौंमा आयोजना हुन लागेको उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
साथै आयोजकले प्रतियोगिताको विजेताले पाउन पुरस्कार राशिको घोषणासमेत गरेको छ । आगामी जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजकले कोरोना भाईरसको महामारी बाबजुत पनि सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दिएको छ ।
प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रङ्गशालामा भएपनि प्रतियोगिता आयोजना हुने बताए । कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो ।
त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शकबिना सञ्चालन हुनेछ ।
यस्तै प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान आयोजकले क्लबलाई प्रदान गरेको छ ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलिबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साझ साढे ५ बजेबाट सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछ । उपविजेताले १५ लाख पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख पाउने छन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।