कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्लामा संक्रमण फैलावटको साङ्लो तोड्न १ हप्ता लकडाउन गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज एक सूचना जारी गर्दै बाँके जिल्लाको उच्च जोखिम रहेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर मिति २०७८ वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन वाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्था समेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक काम वाहेकको हिडडुलमा समेत निषेध गर्ने जनाएका छन् ।
वडाका सबै कर्मचारीमा सङ्क्रमण
सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका–१ कार्यालय बन्द गरिएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना झन् फैलिन सक्ने भन्दै परिस्थिति अनुकूल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।
वडामा कार्यरत तीन महिला र तीन पुरुषलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुने कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायत कर्मचारी छन् । सङ्क्रमित हुने सबैको स्वास्थ्यवस्था सामान्य रहेकोे वडाध्यक्ष रिजालले बताए । होम आइसोलेशनमा रहेका सङ्क्रमित कर्मचारी केहीलाई ज्वरो, कसैलाई खोकी र कसैलाई रुघाखोकीको समस्या छ ।
गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना
बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ । होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो । भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसियू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले बताए ।
उनका अनसार १५ शय्याको कोभिड आइसियूमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेशन वार्डसमेत करीबकरीब भरिइसकेको छ । सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै खत्तम हुन सक्ने जोखिम छ ।
भेरी अस्पतालमा अहिले कोरोना सङ्क्रमित ४० जनालाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना स्पेशल वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताए ।
के गर्न पाइन्छ के गर्न पाइदैन
सञ्चालन गर्न पाइने सेवा एवं कार्यहरू
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको ATM सेवा जस्ता अत्यावश्यक सेवाहरू एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाई सेवा।
सञ्चालन गर्न पाइने साधनहरू
एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरू, लामो दुरीका सवारी तथा मालवाहक साधनहरू, निर्माण सामग्री ढुवानीका साधनहरू, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू, अनुमति (पास) प्राप्त सवारी साधनहरू। माथि उल्लिखित सेवा एवं कार्यमा संलग्न कर्मचारी/व्यक्तिहरूले अनिवार्य रूपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्नेछ साथै मास्क, भौतिक दुरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य बस्तु (तरकारी, खाद्य, दुध, ग्यास) का पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुनेछ।