काठमाडौं– काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३ जना, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५ जना, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ जना र तीव्र गतिमा सवारी चलाउने ११३ जना कारबाहीमा परेका छन्।
त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १६ जना, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५ जना, लेन अनुशासन पालना नगर्ने तीन जना र एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने आठ जना कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई समेत जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।
उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई थप कडाइ गरिएको छ।
ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।