तुलसीपुर (दाङ) । दाङको पर्यटकीय गन्तव्य छिल्लीकोट पुग्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । सडक साँघुरो र कच्ची हुँदा स्थानीयवासी तथा पर्यटकले वर्षौंदेखि आवतजावतमा समस्या भोग्दै आएका छन् ।
वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकको अवस्था सुधारका लागि विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक स्तरोन्नति गर्न ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार सडक स्तरोन्नतिका लागि तुलसीपुर उपमहानगरपालिकाबाट २८ लाख र प्रदेश सरकारबाट ४१ लाख रुपैयाँ विनियोजन भएको हो । उक्त बजेटबाट सडक कटिङ तथा नाला निर्माण गरिनेछ । विनियोजित रकम कालोपत्रका लागि पर्याप्त नभएकाले तत्काल सडक विस्तार र नाला निर्माणको काम अघि बढाइने उनले बताए ।
पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्र गर्न आवश्यक रहेको अध्यक्ष योगीको भनाइ छ ।
छिल्लीकोट पुग्न दूधरास–सङ्ग्राम र विजौरी–स्यालापानी गरी दुईवटा सडक छन् । दुवै सडकको अवस्था कमजोर हुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ । दूधरास हुँदै जाने सडक सोनापुर सिमेन्ट उद्योगले निर्माण गरेको हो । उक्त सडकमा चुनढुङ्गा बोकेका ट्रक नियमित सञ्चालन हुने भएकाले पर्यटकलाई आवतजावतमा असहज हुने गरेको छ ।
त्यस्तै, विजौरी–स्यालापानी सडक अत्यधिक उकालो र साँघुरो छ । दुईवटा सवारीसाधन एकैपटक आवतजावत गर्नसमेत कठिन हुने गरेको छ । सडकको अवस्था सुधार भए छिल्लीकोट पुग्न सहज हुने स्थानीय प्रविर पुनले बताए ।
आन्तरिक पर्यटक रेशम खत्रीले पनि सडकको खराब अवस्थाका कारण आफूले समस्या भोग्नुपरेको बताए । सडक विस्तार तथा स्तरोन्नति भए पर्यटकको आवागमन सहज हुने उनको अपेक्षा छ ।
सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएपछि स्थानीयवासी खुसी भएका छन् । सडकको अवस्था सुधारसँगै छिल्लीकोटमा पर्यटकको आगमन बढ्ने उनीहरूको विश्वास छ ।
छिल्लीकोट ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको क्षेत्र हो । बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले शासन गरेको प्राचीन दरबारका भग्नावशेष यहाँ अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकका लागि प्रसिद्ध कालिका र मालिका देवीका मन्दिरसमेत यहाँ रहेका छन् ।
समुद्री सतहदेखि करिब एक हजार ४२० मिटर उचाइमा रहेको छिल्लीकोटबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ जीपलाइन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । होमस्टे सञ्चालनमा रहेका छन् भने पछिल्लो समय व्यावसायिक लगानीसमेत बढ्दै गएको छ ।
पर्यटकीय पूर्वाधारको विकाससँगै छिल्लीकोटमा पर्यटकको चहलपहल बढ्नुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।