तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ । आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिले चमेराको प्राकृतिक बासस्थानमा असर पर्न सक्ने भएपछि वैकल्पिक आश्रयस्थल बनाउन लागिएको हो ।
आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत काठबाट निर्माण गरिने चमेराको आवासको डिजाइन तयार गरी काम अघि बढाइएको हो ।
राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार पारेको डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने भण्डारीले बताए । निर्माण सम्पन्न भएपछि चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछन् ।
आयोजना निर्माणका क्रममा हुने गतिविधि र रूख हटाउने कार्यबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने क्षेत्रलाई ध्यानमा राखेर वैकल्पिक आश्रयस्थल बनाउन लागिएको उनले बताए ।
चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ । निर्माण कार्यबाट वन्यजन्तुको प्राकृतिक बासस्थानमा पर्न सक्ने सम्भावित असर न्यूनीकरण गर्नुका साथै स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।
वैकल्पिक आवास निर्माणले चमेराको बासस्थान संरक्षण गर्न र आयोजनाका गतिविधिबाट वन्यजन्तुमा पर्न सक्ने प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन उक्त आयोजनाले १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । भौतिक संरचना निर्माणसँगै आयोजनाले वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ ।