भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ ।
भोजपुर र खोटाङका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो । यसका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने केन्द्रको कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशतसहित १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।
उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन आवश्यक बोलपत्र आह्वान गरिएको छ ।
केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल तथा वर्गीकरण र प्राथमिक प्रशोधनका सुविधा रहनेछन् । विशेषगरी तरकारी, फलफूललगायत स्थानीय उत्पादनलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।
हाल उचित बजार र भण्डारणको व्यवस्था नहुँदा किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने तथा लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या रहँदै आएको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उत्पादनलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्य राखिएको बताए ।
उनका अनुसार केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज हुनुका साथै मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । उत्पादनको उचित मूल्य र बजार सुनिश्चित हुने भएपछि किसानलाई व्यावसायिक खेती तथा नयाँ कृषि प्रणाली अपनाउन प्रोत्साहन मिल्ने उनको भनाइ छ ।
गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले केन्द्र निर्माणपछि कृषि उत्पादनको बजारीकरण सहज हुनुका साथै पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, वडा नं. ९ का अध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्रबाट कृषि उपजको सङ्कलनदेखि भण्डारण र बिक्री वितरणसम्मका काम एउटै संरचनाबाट गर्न सकिने बताए । यसबाट टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ ।