काठमाडौँ– नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिने भएको छ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बिहान ११ बजेदेखि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो।
अभियानलाई देशव्यापी रूपमा प्रभावकारी ढङ्गले सञ्चालन गर्न तथा प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, कार्यदिशा र आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन्।
उनका अनुसार काठमाडौँ उपत्यकामा उपलब्ध सबै प्रतिनिधि केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूलाई भने जुममार्फत कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइएको छ।
पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै जनताका मुद्दासँग प्रत्यक्ष जोडिने उद्देश्यले कांग्रेसले एकैसाथ देशका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्न लागेको हो।