काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको मौनतालाई जासुसी उपन्यासको पात्रजस्तै बुझ्न नसकिने रहेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनमा भट्टराईले कसैसँग नबोल्ने र अन्तरक्रिया नगर्ने प्रधानमन्त्री शाहको शैलीप्रति टिप्पणी गर्दै यस्तो बताएका हुन् । उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेन शाहको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा विश्लेषण गरे ।
अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा शाहले जस्तै सम्झौता गरेको भए व्यापक विरोध हुने उल्लेख गर्दै उनको भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेको भट्टराईले बताए। अदृश्य टुनामुना तन्त्र धेरै दिन नटिक्ने उनको तर्क थियो ।
भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने धारणा राखे ।
आगामी स्थानीय तह निर्वाचनमा गुटबन्दीभन्दा माथि उठेर पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहबाट आएका सिफारिसका आधारमा उम्मेदवार छनोट गर्नुपर्ने पनि उनले बताए ।