काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता तथा प्रतिनिधित्वको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।
नेकपाको उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले नयाँ भनिएको सरकारले मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकसँगै सुरक्षा निकाय तथा न्यायपालिकामा समेत अन्योल, त्रास र द्वन्द्वको वातावरण सिर्जना गरेको बताए ।
उनले तत्कालीन राजनीतिक परिस्थितिलाई मात्र नभई दीर्घकालीन दृष्टिकोण राखेर देशभित्र संयुक्त मोर्चा र देशभक्त शक्तिबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । नेपालमा वामपन्थी जनमत बलियो भए पनि त्यसलाई एकताबद्ध नगरी समाजवादको लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ थियो ।
प्रचण्डले विगतमा एकता जोगाउन नसकिए पनि साना–ठूला कम्युनिस्ट घटकलाई जोड्ने तथा सकारात्मक र रचनात्मक संवादमार्फत अन्य पक्षलाई समेत एकताबद्ध गर्ने प्रयास भइरहेको बताए । विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताको झन्डामुनि केन्द्रित हुन सहकार्य र संवाद जारी रहेको उनले जानकारी दिए ।