काठमाडौँ । नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने भएको छ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, आवश्यक जानकारी र कार्यदिशाबारे स्पष्ट पार्न कार्यक्रम आयोजना गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कार्यक्रममा काठमाडौँ उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई आइतबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
त्यस्तै, उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको छ। उनीहरूलाई जुम बैठकको लिङ्क मोबाइलको मेसेज बक्समा पठाइने भएकाले निर्धारित समयमै बैठकमा जोडिन कांग्रेसले आग्रह गरेको छ।
