जुम्ला । जुम्लामा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको छ ।
पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुन लागेपछि स्थानीय तह तथा सरोकारवाला निकाय तयारीमा जुटेका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अतिथिको स्वागतका लागि जिल्लाको मुख्य प्रवेशद्वार तिला गाउँपालिकामा स्वागत गेट निर्माणको जिम्मेवारी गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए ।
पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डास्थित खेलमैदानमा सञ्चालन हुनेछन् । खेलका लागि आवश्यक स्रोतसाधनको व्यवस्था भइसकेको समितिले जनाएको छ । मङ्सिर १४ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई लक्षित गरी खेलमैदानको मर्मतसम्भार, व्यवस्थापन तथा अन्य तयारीका काम भइरहेका छन् ।
त्यस्तै, खेलाडीलाई पूर्वतयारीका लागि अभ्यास खेल सञ्चालन गर्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माण गर्ने काम पनि भइरहेको छ ।
प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन खेलस्थलको थप मर्मतसम्भार तथा सजावटका कामलाई तीव्रता दिइएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।