म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार आएको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीका कारण नारच्याङमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्किएका छन् । स्थानीयवासीका घर तथा विद्यालयका छाना उड्नुका साथै अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकका लागि राखिएका टेन्टसमेत उडाएको छ ।
मङ्सिर ८ गते बिहान करिब १२ः१५ बजेदेखि सुरु भएको हावाहुरीले आयोजनाको विस्फोटक पदार्थ भण्डारणस्थल भालेबासमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पमा करोडौँ रुपैयाँबराबरको क्षति पुर्याएको आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिए ।
नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि निर्माण गरिएका अधिकृत तथा जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुगेको छ । हावाहुरीले भवनमा जडान गरिएका यन्त्र तथा उपकरण, फर्निचर र भुइँमा बिछ्याइएका सामग्रीसमेत उडाएर क्षति पुर्याएको छ ।
त्यसैगरी, आयोजनामा आबद्ध निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम तथा कर्मचारी आवास भवनका भित्ता र छाना उडाएको छ । यसबाट आयोजनाको निर्माण कार्य प्रभावित हुने देखिएको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताए ।
उनका अनुसार विस्फोटक पदार्थ प्रयोग गरी गरिने सुरुङ उत्खननलगायतका काममा समेत असर पर्नेछ । सुरक्षा बेसक्याम्पलाई पुनः पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएकाले आयोजनाको नियमित निर्माण कार्य प्रभावित हुने अवस्था आएको छ ।
हावाहुरीले भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा भवनको छाना पनि उडाएको छ । त्यस्तै, स्थानीय महलबहादुर गर्बुजाको दुईतले ढुङ्गामाटोले बनेको घरको छाना उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए ।
नारच्याङ र आसपासका बस्तीमा रहेका अन्य घर तथा गोठमा समेत क्षति पुगेको छ । हावाहुरीले सुन्तलाका दाना झारिदिएपछि किसानसमेत चिन्तित बनेका छन् । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको वडाध्यक्ष फगामीले बताए ।
यसैगरी, अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्ट हावाहुरीले उडाएको छ । मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार टेन्ट उडेपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको छ ।
घटनापछि नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमका सेनानी मनिष गुरुङ, उपसेनानी नारायण पण्डित, आयोजनाका निर्देशक रमण सिंह, कर्मचारी, इलाका प्रहरी कार्यालय दानाका प्रहरी, स्थानीयवासी तथा सञ्चारकर्मीसहितको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । वडाध्यक्ष फगामीको रोहवरमा इलाका प्रहरी कार्यालय दानाले क्षतिको विवरण समेटेर प्रहरी मुचुल्कासमेत तयार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रकी मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म हावाको अधिकतम गति प्रतिसेकेन्ड ४.१ मिटर मापन गरिएको थियो ।
यसअघि पनि प्राकृतिक विपद्का कारण कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित हुँदै आएको छ । ‘रन अफ द रिभर’ प्रकृतिको उक्त आयोजनाको मुस्ताङसँगको सिमानामा निर्माणाधीन बाँधमा गत असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको थियो ।
गत जेठमा भालेबासको अडिट नम्बर १ र असोज पहिलो साता घरापको अडिट नम्बर ४ बाट सुरुङ खन्न सुरु गरिएको आयोजनाको निर्माण कार्य बाढीपहिरो र हावाहुरीजस्ता प्राकृतिक विपद्का कारण चुनौतीपूर्ण बन्दै गएको छ ।
करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले लगानी गर्नेछन् ।