गुल्मी– गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ ।
कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको जनाएको छ ।
माघ महिनालाई नै ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।
यसअघि हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा पाँच दिने माघी मेला लाग्दै आएको रुरुक्षेत्रमा अब माघ महिनाभर नै श्रद्धालुसँगै तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ ।
महास्नानलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय भएको छ । यसै क्रममा प्रदेश वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भइसकेको छ । बैठकमा मन्त्री चौधरीले महास्नानका लागि मन्त्रालय सहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्रको धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले गाउँपालिका निरन्तर प्रचारप्रसार र तयारीमा जुटेको बताए। उनले महास्नानलाई व्यवस्थित बनाउन स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मको समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयसँग आवश्यक सहयोग र सहजिकरणका लागि आग्रह गरेका छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ । नेपालका चार धामलाई जोडेर धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने तथा रुरुक्षेत्रको धार्मिक महिमा थप उजागर गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताए।
रुरुक्षेत्रको धार्मिक महत्व कालीगण्डकी नदीसँग पनि जोडिएको छ । हिन्दु धर्मावलम्बीका लागि पवित्र मानिने कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा छ । शालिग्रामको धार्मिक महत्वका कारण कालीगण्डकी र रुरुक्षेत्र नेपाल र भारतबाट आउने श्रद्धालुका लागि पनि आस्थाको केन्द्र बनेको छ ।
कालीगण्डकीको पवित्र जलमा स्नान तथा शालिग्रामको दर्शन र पूजाआजा गर्न वर्षैभरि श्रद्धालु रिडीमा आउने गरेका छन् । माघमा यहाँ स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण माघे सङ्क्रान्ति तथा माघमा विशेष भीड लाग्ने गर्दैआएको छ । सोही धार्मिक आस्थालाई व्यापक बनाउँदै माघ महिनाभर महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजुले बताए।
रुरुक्षेत्रस्थित ऋषिकेश मन्दिर यहाँको प्रमुख धार्मिक आकर्षण हो । पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने उक्त मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर मन्दिर, राम मन्दिर, गुप्तेश्वर महादेव मन्दिर र रुरुकन्या मन्दिरलगायतका धार्मिक स्थलले त्यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई थप उजागर गरेका छन्
धार्मिक सम्पदासँगै पछिल्लो समय रुरुक्षेत्रमा पर्यटकीय पूर्वाधार र प्राकृतिक आकर्षण पनि थपिँदै गएका छन् । भारत र चीनलाई जोड्ने रणनीतिक महत्वको कालीगण्डकी करिडोरमा पर्ने रुरुक्षेत्रमा निर्माण भएको नेपालकै पहिलो तीन मुखे झोलुङ्गे पुल यहाँको अर्को प्रमुख पर्यटकीय आकर्षण बनेको छ । कालीगण्डकीमाथि निर्माण भएको उक्त पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ ।
तीन जिल्लाको सङ्गममा रहेको पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रिडी आउने गरेका छन् । कालीगण्डकीको प्राकृतिक सौन्दर्य, तीनमुखे पुल, धार्मिक मठमन्दिर र पुरानो बजार क्षेत्रको एकीकृत आकर्षणले रिडीलाई धार्मिक पर्यटनसँगै सांस्कृतिक तथा पर्यटनको गन्तव्यका रूपमा समेत विकास गर्न सहयोग पुर्याएको छ ।
महास्नानलाई व्यवस्थित बनाउन गाउँपालिकाले नेपालका चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकार भएका निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि छलफल अघि बढाएको गाउँपालिका अध्यक्ष ज्ञवालीले बताए। त्यसबाट चार धामबीच धार्मिक सम्बन्ध विस्तारका साथै तीर्थयात्रीको आवागमन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए।
माघ महिनाभर महास्नान सञ्चालन हुँदा रुरुक्षेत्रमा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजा सामग्री र अन्य व्यापारिक गतिविधिसमेत बढ्ने अपेक्षा गाउँपालिकाले राखेको छ ।
महास्नानको तयारीसँगै पालिकाले कालीगण्डकी नदीको धार्मिक महत्त्व, शालिग्रामको संरक्षण तथा प्रचारप्रसार र नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
यसै सन्दर्भमा महास्नानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार र प्रवर्द्धनका लागि पर्यटन मन्त्रालयसँग तथा कालीगण्डकी जलविद्युत् परियोजनाका कर्मचारीहरुको सम्झौताअनुसार आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग महत्वपूर्ण छलफल गरिएको अध्यक्ष ज्ञवालीले बताए।
धार्मिक आस्था र कालीगण्डकीको पवित्रतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको ‘रुरु महास्नान’ लाई गाउँपालिकाले धार्मिक सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यसँग जोड्दै अभियानलाई तीव्रता दिएको गाउँपालिकाले जनाएको छ ।