सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। बुधबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
आर्मीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको हो। खेलको २३औँ मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। ५२औँ मिनेटमा लाकेन लिम्बुले दोस्रो गोल थपे।
त्यसपछि खेलको ६४औँ मिनेटमा लुम्बिनी प्रदेशका विकास लिम्बुबाट आत्मघाती गोल भएपछि आर्मीको जित ३–० ले सुनिश्चित भएको थियो।
प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुले पहेँलो कार्ड पाएका थिए। म्याच अफिसर वीरेन्द्र पाण्डेले उक्त जानकारी दिएका हुन्।
प्रतियोगिताअन्तर्गत बुधबारको दोस्रो खेलमा दिउँसो २:३० बजे कोशी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।